म अर्कै फेवाताल
ठ्याकै तिथी मिती
पत्तो छैन
युगौं भयो यी मान्छे
जस्तै नलाग्ने मान्छेहरुसंग संगत लागेको
उहिले किनार हुँदो बसाई
सरेका एकलकाटे मान्छेहरु
अहिले बग्रेल्त्ती सहर जस्तै फोहरी सहरी मान्छेहरु
मैले चुपचाप चुपचाप अनगिन्ति मान्छे पढेको छु
मैले चुप चाप चुप चाप अनगिन्ति मान्छे भोगेको छु
आजभोली म मान्छे जस्तै
अर्कै फेवाताल बनिसकेको छु|
बोली एकातिर व्यवहार
अर्कैतिर - नेता जस्तै
नियम एकातिर कर्तब्य अर्कैतिर - प्रशासक जस्तै
सोचाई एकातिर गराई अर्कैतिर – जनता जस्तै
पदवी जे सुकै धारण गरुन,
विशेषण जे सुकै बोकी बसुन्
प्रत्येक मान्छेमा
देखाउने एउटा रुप र असलमा अर्कै रुप भेटेको छु
ओ कबि किनारमा बसेर
भ्रमको गीत नगाए हुन्छ
तिमी पनि त कल्पना एकातिर
यथार्थ अर्कैतिर –बेसुर बेसुर समय जस्तै न
हौ
कहाँ छ अब फेवातालको
आगनमा लै लै माछापुछ्रे छाँया
कहाँ छ अब फेवातालको
कत्ले माछा हर्पन खोला धाउछ
संगते जायते फलम्
म तिमीहरुमाझ तिमीहरु
जस्तै अर्कै फेवा ताल बनि सकेको छु|
पिंढीमा साथ दिंदा मझेरी नै
हडप्ने लोभी छिमेकीका जस्तै संस्कारहरु
कोमल ढाडमा गगनचुम्बी
कंक्रिट महल अनि अट्टालिकाबाट थुक्ने
सामन्तीका जस्तै सोचहरु
कंहा गयो मेरो
बिशाल स्थुल शरीर
कंहा गयो बर्खे भेलमा
तनक्क शरीर तन्काउने भिर कुना र फाँटहरु
मौसमसंगै कहिले खुम्चनु
कहिले फैलनुको मज्जा पो मज्जा
प्रकृति संगै कहिले
पाताले छाँगो त कहिले फुर्से खोला बन्नुको
मज्जा पो मज्जा
ओ मान्छे मेरो एना भरि
जताततै तिम्रै कुरूप कुरूप छायाँ देख्न थालेको छु
तिमीले बाधिदिएको सीमामा कैदी बन्नु अभिसप्त छु
कंहा रहे म पानी जस्तो पानी
कंहा रहे म ताल जस्तो ताल
संगते जायते फलम्
म तिमिहरुमाझ तिमीहरु
जस्तै अर्कै फेवा ताल बनि सकेको छु|
सतह भरि तिमीहरुले नै ओकलेका रक्षानहरु
गर्भ भरि स्खलित पहाडका
अनुत्पादक माटाका बीर्यहरु
कहाँ रहे म स्निग्ध कन्चन
जल भण्डार
कहाँ रहे म रहू ,कत्ले र सहरको घर संसार
ओ मान्छे आखिर तिमि नै
देख्छु यो सहर भरिको ढलमा
अनि तिमी नै देख्छु
पहाडलाई काउकुती लगाउदै उत्तेजित गराउनेमा
अब भन कहाँ रह्यो मेरो
उन्मुक्त चैते छाल
अब भन कहाँ रहें म फेवाताल जस्तो ताल
संगते जायते फलम्
आजभोली म मान्छे जस्तै
अर्कै फेवाताल बनिसकेको छु|
(२०७३-१२-१)
nice story of lake!
ReplyDelete