Tuesday, July 29, 2014

फेसबुके गन्थन-२

मन्दिर र दर्शन संस्कृति

मानिसको लागि शाकाहार  र मांसहार मध्ये कुन ठिक भन्ने विवाद उठाउनु यहानेर समाजमा अन्यहीन  तर्कहरुको जालो फिजाउनु खोज्नु जस्तो हुनसक्छ/ किनकि यसलाई  धर्म र आस्थाको आँखाले हेर्दै गर्दा शरीर र पोषण बिज्ञानको तर्कलाई नजर अन्दाज गर्न सकिदैन भने समुदाय र संस्कृतिको पाटोबाट यसको  पक्ष लिदै गर्दा पशु हत्या र यस बिरुद्दको आवाजलाई बेवास्ता गर्न सकिदैन/ यथार्थमा हाम्रा शक्ति पिठहरुमा बलि दिने  प्रथा भएपनि हाम्रा बैदिक धर्म ग्रन्थमा कहीं पनि यो परम्पराको पृष्ठपोषण  गर्ने आधारहरु उल्लेखित छ जस्तो लाग्दैन भने हाल आएर हाम्रो समाजमा देखिने विभिन्न धार्मिक सम्प्रदाय र समूह कुनैमा पनि साकाहारलाई  मात्र आधात्मिक चिन्तन र साधनको लागि खुल्ला भनि मांसहारलाई पुरै बर्जित गरेको देखिदैन/झन् शरीर विज्ञानले त हामीलाई चाहिने प्रोटिन जस्ता तत्वहरुको लागि भोजनमा मासुको अंश अत्याबस्यक जस्तै ठान्दछ/ यसरि आफु साकाहारी भैकन पनि कहिले पनि यसको एकतर्फी वकालत गर्दै हिडीएन/ तर यसपटक मनकामना मन्दिर दर्शनार्थ पुग्दा भने  कम से कम धार्मिक स्थल र मठ मन्दिरहरु मांसहार अनि नशा तथा मदिरा निषेधित क्षेत्र बनाउनु पर्ने कुराको  वकालत गर्न मनलाग्यो/
मनकामना, नेपालका चर्चित धार्मिक स्थलहरु मध्ये  एउटा हो  जसमा दैनिक हजारौको संख्यामा दर्शनार्थीहरु पुग्दछन/ यसमा पनि देशमा  संचालनमा रहेको एउटा मात्र केबलकारले  मन्दिर सम्मको पहुच सहज बनाइदिएर दर्शनार्थीहरुको चाप बढाएको छ/ बेलुकीको मेसो पारेर मन्दिरमा उक्लदा  दर्शनार्थीहरु लाइन बस्ने  ठाउमा लहरै दर्शनार्थी जस्तै  प्लास्टिक बोत्तलथिए  जुन भोलि पल्टसम्म पनि उस्तै थिए, साथै मन्दिर परिसरका कुना कप्चेरा ठाउमा  फोहरहरु प्रसस्तै  थिए/ त्यहाँ   हामी दर्शनार्थीहरुको सफाई चेतनाको बिम्ब मात्र होइन  मन्दिरले गर्दा दैनिक लाखौ कमाउने मन्दिर ब्यबस्थापन  र  केबलकारको मन्दिर प्रतिको अपनत्व पनि बिम्बित थियो/ फुर्सदिलो क्षणमा पुजारी बाजे मन्दिरको ढोका छेउ स्मार्ट फोनमा ब्यस्त देखिन्थे न की मन्दिर वरपरको बाताबरण को उनलाई चिन्ता थियो/
“आउनुस आउनुस खाजा नास्ता खाएर जानुस, सेकुवा चिउरा, सेलरोटी  तरकारी ताजा ताजा” मुग्लिन कै झल्को दिने गरि खाना नास्ताको व्यापार अनि मन्दिरकै मूल ढोका अगाडिको पुरानो बाटोको दोहरै बाटोमै पोलिएको सेकुवाको गन्ध/ थाहा छैन  हामी मन्दिर दर्शनलाई अध्यात्मिक चिन्तनसंग कसरि जोड्दछौ, धार्मिक पर्यटनलाइ अन्य पर्यटनसंग कसरि छुट्टै परिभाषित गर्छौ/
तर अकाट्य सत्य के हो भने  हामीहरु धार्मिक क्रियाकलापमा आत्मिक सन्तुष्टिको लागि लाग्दछौ/ यो लोक र पर लोक, ज्ञान वा  भक्ति, भगवान का  साकार कि  निराकार स्वरूप, द्वैत वा  अद्वैत्य बाद जस्ता हाम्रो सनातनी धर्मका विरोधाभासबाट पर हटेर, बेद पुराण जस्ता धार्मिक ग्रन्थका गुरु र पण्डितहरुले गर्ने आआफ्नै प्रकारका विरोधाभासपूर्ण ब्याख्या लाई नजोडी निरपेक्ष बनेर भन्नु पर्दा धार्मिक क्रियाकलापमा लाग्नु भनेको आफ्नै चित्त सुद्धि  गर्नु हो/ तामसी परिवेश र क्रियाकलापलाइ छाड्दै सात्विक क्रिया कर्म र परिवेश तिर लाग्नु हो/ संसारिक भागदौड र तछाड मछाड बाट पर रहेर शुद्ध चिन्तन सहितको  बातावरणमा मग्न हुनु हो/
 “ ओइ मलाई त बेलुका अलि बढी भएछ यार, हल्ला पनि टन्नै गरियछ मेरो त टाउको दुखेर बेहाल भो” संगै लाइनमा बस्ने एक हुल अधबैसे मध्य एउटाले आफ्नो हालत साथीहरुलाई बताउदै थियो.” होइन यार खान त मैले पनि टन्नै खाएको होनी, मेरो त उल्टीले गर्दा काम गर्यो , खासै टाउको दुखेको छैन” अर्को साथी बताउदै थियो/ उनीहरुका गफ यस्तै चल्दै थिए र मन्दिरको लाइन आगाडी बढ्दै थियो/ हुल नै भएर अघिल्लो बेलुकाभरि होटेलमा हल्ला गर्दै टन्न मांस अनि मदिरापान गरि बिहानपख  बेलुका कै हेंग ओभरमा मन्दिरको लाइनमा बसी दर्शन गर्दा कस्तो अध्यात्मिक चिन्तन र  लाभ मिल्ला? सोधी र खोजि कै बिषय बन्ला /

अझ सपाट शब्दमा भन्नुपर्दा हामीहरु  मन्दिर दर्शनको हाम्रो परम्परा र संस्कृति मार्फत  मन्दिर र मन्दिर क्षेत्रलाइ अधिक ब्यापार मात्र गर्ने थलो, मनोरन्जनको लागि पुग्ने स्थल बनाइरहेका छौ/ मन्दिर मन्दिरको जस्तो सफा अनि पवित्रतामा नभैकन, हाम्रा दर्शन गर्ने मनहरु एकाग्रता र शुद्दतामा नरहिकन हामीहरु कस्तो मन्दिर दर्शन संस्कृतिको बिकाश गर्दै छौ/ भोलि यसले कस्तो रुप लिदै जाला/ यसको उत्तर  भोलिकै गर्वमा छाडिदिने कि? यसको बारेमा आजै सोच्ने? विचार यहाँहरुकै/

Friday, July 25, 2014

फेसबुके गन्थन-१
शहरका चोक र गाउँघरका चौतारीहरुको आधुनिक रूप बनेका छन् यी सामाजिक संजालहरु/ आफन्त र साथीभाई संगको भलाकुसारी, देश विदेश र चिनजानहरुसंगको सूचना तथा खबर आदानप्रदान, सांचै  यिनै बहानामा चोक तिर टहलिनु र चौतारीमा सुस्ताउने हाम्रा बाबु बाजेहरुको लत जस्तै बन्यो यी संजालहरु पनि/ यी संजालहरुको कति र कस्तो प्रयोग उपयुक होला भन्ने कुरामा भिन्न भिन्न विचार र तर्क हुन सक्लान तर सामाजिक दबाब मुलक  उत्प्रेरणाको माध्यम पनि बन्ने रहेछन यी संजालहरु/  
“साथि तिमी कता छौ म पोखरा मा छु/ तिमीलाई भेट्न सक्छु.” धेरै पछि साथीको मेसेज आयो फेसबुकमा/  मेरो मानसपटलमा  मेसेज संगै मेसेज पठाउने  साथी अनि क्याम्पसकालिन समयको याद आयो/ आजभन्दा २०/२५  वर्ष आगाडीको  पोखरा आजको जस्तो हुलमुल र ठेलमठेल थिएन र थिएन भौतिक  साधन र स्रोतमा  यो रुपमा/ उच्च शिक्षा अध्ययनको लागि  पृथ्वी नारायण क्याम्पस थियो बेग्रल्ती कलेजहरु थिएनन् / सडकमा यो बिधि गाडी र मोटरसाइकल हुदैनथे/ एकाध निजि सबारी कार तथा मोटर साइकल र धेरै सार्बजनिक बसहरु जसलाई चल्तीको भाषामा नगरबस भनिन्थ्यो गुड्थे सडकहरुमा/ अध्ययनको  लागि यो  भेगका   प्रायस सबै जना पोखरा नै आउनुपर्ने बाध्यताले हाम्रो भेट गरायो/ बिज्ञान बिषय पढेर डाक्टर र इन्जिनियर  बन्ने सपना थिए हामीसंग/ पहाडबाट  आएको उसलाई सुरुमा पढाइ तिर खुब लगाब थियो/  तर बिस्तारै उसको प्राथमिकता परिबर्तन हुदै गयो/ लाहुरे हुने पारिवारिक पृष्टभुमिबाट आएकाले हुनसक्छ बैदेसिक रोजगारी र  त्यो पनि त्यती बेलाको चल्तीको गन्तब्य हंगकंग उसको सपना बन्यो/हामीहरु भने इन्जिनियर बन्ने भनेर घन घोटी बन्चरो मा लागियो/
“हेर साथी  यो देसमा पढेर केहि काम छैन/ पढेर पैसा कमाउदैन/ तिमी येही बस डाक्टर इन्जिनियर बन/ म उता हंगकंग  गएर पैसा कमाएर आउछु/ २० वर्ष पछि तिमी बाटोमा चप्पल पडकाउदै हिड्छौ/ म कार लिएर ए साथी तिमी कता हिडेको आउ मा छाडदिन्छु भन्छु बुझेउ”/  हो आज ठयाककै २० वर्ष पछि हामी आमने सामने छौ/ समय को माग अनि प्रगति प्रतिको मानबिय चाह,  उ हंगकंगमा मात्र सिमित रहेन बेलायत पुग्यो /विभिन्न पेसा ब्यबसाय अंगाल्यो र पैसा कमायो/ याता मेरो पनि एउटा सपना पुरा भयो  इन्जिनियरिंग पढ्ने, त्यो मात्र होइन इन्जिनियरिङ को उच्च  डिग्री पनि हात पारियो/ र सबै भन्दा ठुलो कुरा उसले २० वर्ष आगाडी भने जस्तै स्थितिमा छौ हामी/ बिदेस तिर त उसको के के छ थाहा छैन/ यता यसले एउटा घर र गाडी जोडेको छ/ पहिले को घर बेचेर अर्को घर बनाउदै रहेछ/ मेरो हालत उस्तै  अलि अलि जागिर खाइयो अनि जिन्दगि चलाइयो/ राम्रैसंग कमाउन र घर घडेरी जोड्ने मेसो मिलाउन सकिएन/
हो यसरी लामो अन्तरल पछि  भेटिदा उसले भने जस्तै हामीमा भौतीक असमानता त थियो तर यसको छनक पनि भेटिएन हाम्रो बसाई र बार्तालापमा/ बरु समग्रमा जिन्दगिको  अनगिन्ति आरोह आबरोह  बेहोरेर बुज्जक्की बनेका पाका अधबैसेका   साझा  बुझाई र अनुभव साट्न  थालेम   हामीहरु/ “ बिदेस त भन्नु मात्र यार पैसो  त अलि अलि कमाएको  हो तर उतै व्यापार ब्यबसाय गर्नु खोज्दा डुबियो/ सबै साथीहरुको हालत उस्तै छ/ अब त चालिसे उमेर पनि भयो/ यतै फर्कने र केहि गर्ने विचार छ मेरो त/” यही मेसो मा मैले पनि गर्नुसके त यही देशमै प्रसस्त गर्न सकिने गूड्डी हाँके/ भलै आफुले गर्नु सकेको केहि होइन अरुका सफलताका कथा र आफुले बनाएका भाबी संभाब्य योजनाका फेरी हस्त सुनाए/ उसले पनि गाउँमा कृषि फार्मिंग  सुरु गरु कि जस्तो लागेको बतायो/
अर्को हप्ता उही साथीको फेसबुकवालमा गाउँका डांडा पाखामा रूख रोप्दै र बारी तीर गोडमेल गर्दै गरेका एकाध फोटाहरु पोस्ट भए / मैले साथीले कृषि फार्मिंग सुरुगरेकोमा बधाई सहितको कमेन्ट राखिदिए/ त्यसपछी  साथीभाइ र आफन्तहरुबाट बधाईको ओइरो लाग्न थाल्यो/ थाहा छैन फार्मिंग उसले सान्चैको सुरु गरेको थियो या थिएन/ उसको फार्मिंगसोच सोच मात्रै थियो कि? यो सोचलाइ कार्यान्वयन गर्छ की गर्दैन? एकाध फेसबुके फोटाहरुको आधारमा उसको योजना सार्बजनिकरण गर्नु  हुन्नथियोकी/ किनकि मान्छेले सोचेका सबै योजनाहरु पुरा गर्छन र गर्नु  पर्छ बन्ने छैन/ योजना बुंदा बुन्दै र सुरुगर्दा गर्दै पनि बिबिध कारणले योजनाहरु आगाडी बद्दैनन/ यस अर्थमा साथीलाइ सामाजीक संजाल मार्फत दबाबमा  पो  पारियो कि? मेरो मथिंगलमा यीनै कुरा खेल्न थाले/ तर हैन यहि कुरा उसलाई उत्प्रेरणा पनि त हुन् सक्छ सोचलाई कार्यरूप दिने/ यसरि उसले फार्मिंग सुरु गरेछ भनेपनि यही बहाना मा एउटा बिदेसिएको नेपाली त नेपाल मै अट्ने  भो/  देश  बिकाशमा  कृषि  अर्थतन्त्रका, कृषि बिकाशका  ठुला ठुला कुरा छाडिदिउ/ उसको आगामी दिनको सफलताको मनग्य शुभकामना त छदै छ त्यो भन्दा बेसी हामी  माझ हाम्रो  एउटा कर्मशील साथी त रहने भो र यो नै हाम्रो लागि प्रेरणाको स्रोत हुनसक्छ केहि उधम गर्नलाइ/ यस्तै सोच्दै  मैले मनको दुबिधा मेटाए र यो फेसबुके गन्थन फेसबुकमै चढाए/ आगे कमेन्टसाथीकै......./