Sunday, August 17, 2014

झारहरु खेती बन्न सक्दैनन्

झारहरुले पेटको ज्वाला मार्ने फसल दिन सक्दैनन्
झारहरुले नाङ्गो आंग ढाक्ने  बस्त्र पनि दिन सक्दैनन्
झारहरु आफै समस्या हुन् खेतीका
यी खेती हुन सक्दैनन्

तर अफसोच हिजोको अज्ञानतामा  जस्तै आजभोली पनि हामी
घरबारी तिरका गरिबीका झारहरु सुम्सुम्याउछौ
आभाबका झारहरुमा बिदेसी मल पनि हाल्दछौ
गोडेर फाल्नु पर्ने जातमाथि
खै के स्वार्थले हो कुन्नि राजनीति गर्दछौ
उत्पीडनका झारहरुलाई  अशिक्षाका झारहरुलाई
घरेलु कामदार बनाएर भान्छा चलाउछौ हामी
बगैचा र घर सजाउछौ हामी
उपभोगितावादको पराकास्टा
झारहरुको एन जी ओ व्यापार गर्न खोज्दछौ हामी
डलर खेतीमा रुपान्तरण गर्न खोज्दछौ हामी

कहिले बुज्ने  हो हामीले
कहिले चेत पलाउने हो हामीमा
झारहरु निर्मुल पार्न हाम्रै हात आफ्नै कुटा बाउसमा चल्नु पर्छ
हाम्रा हात आफ्नै करेसा र खेतबारीमा डुल्नु पर्छ
आयातित तकनिकी , सपना र सहयोगले मर्दैनन हाम्रा झारहरु
आपसी सहयोग र सद्भाबको औषदी छर्नु पर्छ

झार का खेति गर्न खोज्ने हामीहरु
अब त सोच्नु पर्छ, अब त बुज्नु पर्छ
झारहरुले पेटको ज्वाला मार्ने फसल दिन सक्दैनन्
झारहरुले नाङ्गो आंग ढाक्ने  बस्त्र पनि दिन सक्दैनन्
झारहरु आफै समस्या हुन् खेतीका
यी खेती हुन सक्दैनन्

(२०६१/५/६ –समता काव्य सन्ध्या)

Thursday, August 14, 2014

हावा अनि बादल बनेको म पानी

तरल तरल अर्थात् आकार बिनाको म पानी
उकालो उन्नती कहिल्यै लाग्न नसक्ने
ओरालो – नियति पछि पछि
भिरालो – समय संगसंगै
नचाहेरै पनि चुपचाप चुपचाप बग्नु पर्ने
तरल तरल अर्थात् आकार बिनाको म पानी बादल बनेको बेला
हलुका भएर नै सहि आयतनमा फुकेको बेला
मैले धरातल छाडेको बेला
हावा तिमी हुरी बनेर नआउनु -छिन्न भिन्न नपार्नु

पहाडका खोल्सा खोल्सी
सुसाउने नाउमा थुप्रै पटक रोइसकेको छु
आज पहाड संगै  लुकामारी खेल्दै बेला
तराइको उस्ण छाती
सुस्ताउने नाउमा थुप्रै पटक लडिबुडी  खेलिसकेको छु
आज म  उन्मुक्त भएको बेला
खुल्ला आकाशमा कावा खादै गरेको बेला
हावा तिमी मेरो रिस नगर्नु
तरल तरल अर्थात् आकार बिनाको म पानी बादल बनेको बेला
हावा तिमी हुरी बनेर नआउनु- छिन्नभिन्न नपार्नु


उचाई बाट फरालेर
थुप्रै पटक बज्रिसकेको छु –झरना बनेको छु,छहरा बनेको छु
असैह्य पिडा खपेर देख्नेलाई सुन्दरताको उपमा बनेको छु
खाडलहरुमा कोक्रियर
थुप्रै पटक निदाइ सकेको छु –ताल बनेको छु,सागर बनेको छु
असंख्य रहर मारेर हेर्नेलाई शालीनताको पर्याय बनेको छु
तर आज मैले थोरै मौका पाएको बेला
आफैलाई बिर्सेर आफैसंग रमाएको बेला
तरल तरल अर्थात् आकारबिनाको  म पानी
बादल बनेकोबेला
हावा तिमी हुरी बनेर नआउनु –छिन्नभिन्न नपार्नु
मलाई वर्षा बन्न नपार्नु
मलाई फेरी पानी बन्न नपार्नु
(सिउड़ी :अंक ५, २०६१ असोज )