Thursday, August 14, 2014

हावा अनि बादल बनेको म पानी

तरल तरल अर्थात् आकार बिनाको म पानी
उकालो उन्नती कहिल्यै लाग्न नसक्ने
ओरालो – नियति पछि पछि
भिरालो – समय संगसंगै
नचाहेरै पनि चुपचाप चुपचाप बग्नु पर्ने
तरल तरल अर्थात् आकार बिनाको म पानी बादल बनेको बेला
हलुका भएर नै सहि आयतनमा फुकेको बेला
मैले धरातल छाडेको बेला
हावा तिमी हुरी बनेर नआउनु -छिन्न भिन्न नपार्नु

पहाडका खोल्सा खोल्सी
सुसाउने नाउमा थुप्रै पटक रोइसकेको छु
आज पहाड संगै  लुकामारी खेल्दै बेला
तराइको उस्ण छाती
सुस्ताउने नाउमा थुप्रै पटक लडिबुडी  खेलिसकेको छु
आज म  उन्मुक्त भएको बेला
खुल्ला आकाशमा कावा खादै गरेको बेला
हावा तिमी मेरो रिस नगर्नु
तरल तरल अर्थात् आकार बिनाको म पानी बादल बनेको बेला
हावा तिमी हुरी बनेर नआउनु- छिन्नभिन्न नपार्नु


उचाई बाट फरालेर
थुप्रै पटक बज्रिसकेको छु –झरना बनेको छु,छहरा बनेको छु
असैह्य पिडा खपेर देख्नेलाई सुन्दरताको उपमा बनेको छु
खाडलहरुमा कोक्रियर
थुप्रै पटक निदाइ सकेको छु –ताल बनेको छु,सागर बनेको छु
असंख्य रहर मारेर हेर्नेलाई शालीनताको पर्याय बनेको छु
तर आज मैले थोरै मौका पाएको बेला
आफैलाई बिर्सेर आफैसंग रमाएको बेला
तरल तरल अर्थात् आकारबिनाको  म पानी
बादल बनेकोबेला
हावा तिमी हुरी बनेर नआउनु –छिन्नभिन्न नपार्नु
मलाई वर्षा बन्न नपार्नु
मलाई फेरी पानी बन्न नपार्नु
(सिउड़ी :अंक ५, २०६१ असोज )

No comments:

Post a Comment